Thursday 21 October 2010

१३ हजार राँगा र खसीबोकाको बध


धार्मिक विश्वासमा परेर दसैँमा सप्तरीस्थित दुई ठाउँका दुर्गा मन्दिरमा मात्र १३ हजार राँगा र खसीबोकाको बध गरिएको छ । ती मन्दिरमा सयौँ पक्षीको बलिसमेत दिइएको छ ।
भारदह गाविसस्थित कंकालिनी र छिन्नमस्ता सखडेश्वरी दुर्गा मन्दिरमा ठूलो संख्यामा पशु र पक्षी बलि दिइएको हो । दुर्गा मन्दिरमा बली दिएमा मनोकांक्षा पूरा हुने विश्वास र परम्पराका नाममा पशुबलि दिने चलन बढ्दै गएको छ । एउटै जिल्लामा यति धेरै पशुबलि हुँदासमेत पशुअधिकारवादीहरूले कुनै विरोध गरेनन् ।

कंकालिनी भगवती मन्दिरमा यस वर्ष दसैँका नौ दिनमा करिब सात हजार खसीबोका बलि दिइएको मन्दिर विकास समितिका उपाध्यक्ष चन्दनकुमार कापैरले जानकारी दिए । पूजा समितिका सचिव विनोद माझीका अनुसार महानवमीका दिन मात्रै तीन सय ८३ राँगाको बलि दिइएको थियो ।
मन्दिर विकास समितिका सहसचिव रामुकुमार विश्वासले राँगाको बलि बढी हुने गरेको बताए । नेपालमा बाराको गढिमाइपछि कंकालिनीमा ठूलो संख्यामा राँगाको बली दिने गरिएको छ ।
यसबाहेक कंकालिनीमा एक सय बढी जोडी हाँसको समेत बलि दिइएको पूजा समितिले जनाएको छ । कंकालिनीमा हरेक वर्ष पशुबलि बढ्दै गएको छ । यसअघि ०५६ सालमा एक सय ६ राँगा बलि दिइएकोमा ०६६ सालको महानवमीमा तीन सय १५ राँगा काटिएको थियो । दुर्गा मन्दिरमा बीभत्स रूपले बलि दिइन्छ । कंकालिनीमा यस वर्ष महानवमीको दिन एउटा राँगालाई दुईजनाले पालोपालै गरी १३ पटक खुकुरी छप्काएर बध गरेका थिए । राँगाबलिका सहसंयोजक बच्चालाल मण्डलले भने, 'ठूलो राँगा भएकाले यस्तो भएको हो ।'
निःसन्तानलाई सन्तान हुने, रोग निको हुने विश्वासमा मन्दिरमा बलि दिनेहरू बढेको कंकालिनी मन्दिरका मुख्य
पुजारी चन्द्रकान्त भारतीले बताए । उनले दाबी गरे, 'यस मन्दिरमा भाकल गरेकाको मनोकामना पूरा भएपछि बलि नदिने धैरैको अनिष्टसमेत भएको छ ।'
हालै शक्तिपीठका रूपमा स्थापित छिन्नमस्ता सखडेश्वरी मन्दिरमा पनि यस वर्षको घटस्थापनादेखि दसमीसम्म करिब ६ हजार खसीबोकाको बलि दिइएको मन्दिरका पिठाधीश महाकान्त ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले पनि दिनहुँ एक सयदेखि डेढ सयको हाराहारीमा खसीबोकाको बलि दिइने गरिएको छ ।
यसैबीच, अघिल्लो वर्षमा सप्तरीका दुई-तीन ठाउँका मन्दिरमा हुने गरेको पशुबलि यस वर्ष बढेको छ । बेल्हीको गहवर काली मन्दिरमा यस वर्ष महानवमीका दिन २८ राँगा र तीन सय ५० खसीबोका काटिए । कोइलाडीस्थित काली मन्दिरमा पनि १७ राँगा र तीन सय ४२ खसीबोका बलिका नाममा काटिएका थिए । सकरपुरामा तीन राँगा र दुई सय तीन खसीबोका बली चढाइएको स्थानीय बासिन्दा उग्रकान्त झाले जानकारी दिए । राजविराज नगरपालिकाको राजदेवी मन्दिर परिसरमा पनि दसैँमा करिब दुई हजार खसीबोकाको बलि दिइएको छ ।
पशुबलि विरोध भए पनि परम्पराका नाममा यो क्रम रोकिएको छैन । जैन धर्मावलम्बी थानसिंह भन्सालीले पशुबलिको प्रदर्शन गरेर विरोध गरे पनि दुर्गा मन्दिरमा बलि दिन नछाडिएको गुनासो गरे । उनले भने, 'पशुबलि प्रथा सबै मिलेर रोक्नुपर्छ ।'

No comments:

Post a Comment

Free counter and web stats