Wednesday 6 October 2010

प्रधानसेनापती बेलायतमा

बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले मंगलबार बेलायती सेनाप्रमुख सर पिटर वालसँग भेटवार्ता गरेका छन् ।

बेलायतको रक्षा मन्त्रालयस्थित वालको कार्यकक्षमा बुधबार भएको भेटमा द्विपक्षीय हितका विषयहरूमा कुराकानी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसक्रममा बेलायती सेनाका उच्चपदस्थ अधिकृतहरूले सेनापति गुरुङलाई 'ब्रिफिङ' गरेका थिए ।

त्यसअघि मंगलबार सेनापति गुरुङको सम्मानमा हर्स गार्ड परेडमा पहिलो बटालियनको ग्रेनेडियर गार्डले गारत प्रदान गरेको थियो । गुरुङले सम्मान गारतको निरीक्षणसमेत गरेका थिए ।

उनलाई बेलायती सेनाका रथी पल न्युटन र उपरथी विलियम कुविटले स्वागत गरेका थिए । सेनापति गुरुङले परराष्ट्र तथा राष्ट्रमण्डल कार्यालयमा अवस्थित दक्षिण एसिया र अफगानिस्तान निर्देशनालयका निर्देशक कारेन पियर्स र अन्तरराष्ट्रिय विकास विभागका स्थायी उपसचिव मिनोस सफिकसँग पनि भेटघाट गर्नेछन् ।

सेनापति गुरुङको भ्रमण दलमा श्रीमती कमला गुरुङ, उपरथी नेत्रबहादुर थापा र प्रमुख सेनानी शिवशंकर गुरुङ सम्मिलित छन् । सेनापति असोज २७ गते स्वदेश फर्कने छन् ।

No comments:

Post a Comment

Free counter and web stats