Tuesday 26 October 2010

१३ औं पटकको पराजयपछि पौडेलले भने, 'उम्मेदवारी फिर्ता लिन्न


काठमाडौ, कार्तिक ९ - नेपाली काँग्रेस संसदीय दलका नेता एवम् प्रधानमन्त्री पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधान लेखन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने सुनिश्चित नभएसम्म आफूले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका छन् ।

'म ती दुई महत्वपूर्ण विषयमा माओवादीले सुनिश्चितताको प्रतिबद्धता नगरेसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन्न' १३ औं पटक पनि पराजित भएपछि संवाददातहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'तीन दलबीच भएको तीन बुँदे सहमतिको पहिलो बुँदा कार्यान्वयन हुनुपर्छ ।'

संविधानसभाको म्याद थप गर्ने बेलामा माओवादी काँग्रेस र एमालेबीच तीन बुंदे सहमति भएको थियो । त्यसको पहिलो बुँदामा शान्तिप्रकृया र संविधान निर्माणमा सहमति जुटाउने उल्लेख थियो । काँग्रेसले तेस्रो बुँदामा रहेको प्रधानमन्त्रीको राजीनामा सम्बन्धी विषय कार्यन्वयन भएको उल्लेख गर्दै‍ पहिलो बुँदा कार्यन्वयन हुनुपर्ने उल्लेख गर्दै आएको छ ।

पौडेलले तीन दलबीच प्रधानमन्त्री चयनका विषयमा सहमति जुटाउन प्रयासरत रहेको जानकारी दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किएपछि सहमतिका लागि कुराकानी गरिने दावी गरे । दाहाल मंगलबार राति फर्कने कार्यक्रम छ ।

रासस

No comments:

Post a Comment

Free counter and web stats