Friday 22 October 2010

झिटीगुन्टा कोटेश्वर पठाइसकें


काठमाडौ, कार्तिक ५ - कामचलाउ सरकारको हनिमुन अवधि निकै पीडादायी भएको बताउँदै आएका प्रधानमन्त्री माधवकुमार

नेपालले बिहीबार फेरि भने, 'म बालुवाटार छाड्न आतुर छु ।'

'बालुवाटार छाडेर कोटेश्वर जान म आतुर छु, मेरो झिटीगुन्टासमेत कोटेश्वर पठाइसकेको छु,' एक कार्यक्रममा सँगै सहभागी भएका दलहरूका शीर्ष नेताहरूसँग प्रधानमन्त्रीले भने, 'बालुवाटार बस्ने व्यक्ति पठाइदिनुहोस्, म कोटेश्वर गइहाल्छु ।'

उनले सहमति जुटाउन आफूले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ताका लागि पाँच दिनदेखि समय मागे पनि नपाएको दुखेसो पनि पोखे । 'मैले दलहरूबीच सहमति जुटाउन प्रचण्डजीसँग भेट्न खोजें,' नेपालले भने, 'तर पाँच दिन भयो प्रचण्डजीले समय दिनुभएको छैन ।'

प्रधानमन्त्रीले त्यसो भन्दा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सँगै थिए । श्रेष्ठले प्रधानमन्त्रीको भनाइमा तत्कालै खण्डन गर्दै 'अध्यक्ष प्रचण्डको जिम्मा आफू लिने' बताउँदै भेटवार्ता हुने बताएका थिए ।

प्रधानमन्त्रीले नयाँ सरकार बन्ने अवस्था तत्कालै नदेखिएको र तत्कालै बजेट नल्याए मुलुक आर्थिक संकटमा पर्ने उल्लेख गर्दै त्यसबाट बचाउन बजेट ल्याउने तयारी सरकारले गरेको पनि बताए । 'माओवादीले नचाहे पनि बजेट ल्याउने काम रोकिने छैन,' रिपोर्टर्स क्लबको चियापानमा प्रधानमन्त्रीले भने, 'देशलाई बचाउने कि नबचाउने माओवादीले पनि सोच्नुपर्छ ।' माओवादी सहमतिको बाधक रहेको बताउँदै प्रधानमन्त्रीको उम्मेदवारी कांग्रेसले फिर्ता लिँदैमा सहमति हुन नसक्ने बताए । 'सहमति र उम्मेदवारी फिर्ता प्याकेजमा हुनुपर्छ,' उनले भने ।

कांग्रेस सभापति सुशील कोइरालाले सहमति गर्ने र नगर्ने भन्ने बल माओवादीको कोर्टमा रहेको बताए । सहमति नहुँदासम्म उम्मेदवारी फिर्ता नलिने अडान यथावत् रहेको बताउँदै भने, 'शान्ति प्रक्रिया, संविधान निर्माणमा सहमति भए कांग्रेसलाई जो सरकारमा आए पनि आपत्ति हुँदैन ।' उनले कार्यान्वयनको अनभूति हुने गरी शान्ति प्रक्रिया र संविधानबारे सहमति हुनुपर्ने बताए ।

एमाले अध्यक्ष झलनाथ खनालले सहमति नभएमा 'दलीय व्यवस्था नै असफल हुने' उल्लेख गर्दै प्रमुख तीन दलबीच सहमति आवश्यक रहेको बताए । 'तीनै लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरू एक ठाउँमा आउनैपर्छ । नत्र दलीय व्यवस्था नै असफल हुने खतरा छ,' खनालले भने । उनले राष्ट्रिय सहमतिको सरकार, शान्ति र संविधान प्याकेजमा सहमति हुनुपर्ने बताए ।

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बजेट ल्याउन हुन्न भनेर माओवादीले नभनेको बताउँदै कामचलाउ सरकारले ल्याउँदा गलत सन्देश जान्छ भन्ने मात्रै धारणा रहेको बताए । उनले माओवादीको जोड संविधान, शान्ति र सहमतिमा रहेको बताउँदै प्रधानमन्त्री पद प्रमुख एजेन्डा नरहेको बताए । 'राष्ट्रिय सहमति बन्दा सबै भन्दा ठूलो दलको नाताले सरकारको नेतृत्व माओवादीले पाउनुपर्छ भन्ने स्वतः दाबी हो,' भट्टराईले भने ।

No comments:

Post a Comment

Free counter and web stats