Tuesday 21 September 2010

कोइराला नै बने काँग्रेस सभापति


नेपाली काँग्रेसको सभापति पदमा सुशील कोइराला विजयी भएका छन्। कोइरालाले जितका लागि आवश्यक ५० प्रतिशत मत अर्थात् १६५२ मत ल्याए। देउवाले भने १३१७ मत मात्रै ल्याउन सके। प्रतिद्वन्द्वीहरुले हजार हजार मत ल्याउँदा पनि भीमबहादुर तामाङले भने १०० मत पनि पुर्‍याउन सकेनन्। उनी ७८ मतका साथ लज्जास्पद पराजय भोग्न बाध्य भए। काँग्रेसको यो परिणामले एउटा स्पष्ट सन्देश दिन्छ- पार्टीमा शक्ति र संस्थापन पक्षको महत्त्व सँधै बढी हुन्छ। विद्रोह गरी पार्टी फोडी हिँड्नेहरुको भविष्य राम्रो हुन्न (देउवाको मतको अर्थ) र राजनीतिमा त्याग र निष्ठाले मात्रै अघि बढिन्न (तामाङको मतको अर्थ)

कोइरालाको सभापति पदमा निर्वाचन सँगै अब हुनेछ अरु पदको पनि मतगणना। देउवालाई निश्चय नै कोइरालाले केन्द्रीय सदस्यमा मनोनयन गर्नेछन् तर अब गिरिजाको निधनपछि सुशील वरिष्ठ कि देउवा वरिष्ठ भन्ने अन्यौलको अन्त्य हुनेछ। पार्टी एकीकरणपछि देउवाको पार्टीमा पकड कमजोर हुँदै गरेको अर्को घटनाका रुपमा यसलाई लिन सकिन्छ। यसअघि स‍ंसदीय दलको नेताको चुनावमा पनि देउवा रामचन्द्र पौडेलसित पराजित भएका थिए।

प्रधानमन्त्री पदका आकांक्षी र अहिले प्रधानमन्त्रीको रेसमा एक्लो रहेका रामचन्द्र पौडेल सुशील कोइरालाको पक्षमा खुलेर लागेका र कोइरालाको पनि समर्थन पौडेलप्रति रहेको हुँदा मुलुकको राजनीतिलाई पनि यो परिणामले असर पार्ने देखिन्छ।

काँग्रेस महाधिवेशनलाई नै प्रभावित पार्ने गरी एमाले र माओवादीले सहमति गरी माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए। देउवा पक्ष विजयी भएका भए रामचन्द्र पौडेलको उम्मेदवारी सम्बन्धमा पुनर्विचार गर्ने भनाई सार्वजनिक भएका थिए। तर पौडेलले भने बहुमतीय प्रक्रियामा गइसकेपछि फेरि सहमतीय प्रणालीमा जानु ठीक हुन्न भन्दै आफ्नो उम्मेदवारी फिर्ता नहुने बताउँदै आएका छन्।

महाधिवेशनपछि नयाँ कार्यसमितिको बैठक बस्न समय लाग्ने भएकोले तुरुन्तै प्रधानमन्त्री निर्वाचित हुनसक्ने देखिन्न। अब एकातर्फ वर्तमान सरकारको गठबन्धन कायम राख्‍ने प्रयास पनि हुनेछ भने अर्कोतर्फ एमाले र माओवादीले निर्वाचन प्रक्रिया बहिस्कार गर्ने हो भने काँग्रेसलाई पनि उम्मेदवारी फिर्ता गर्न दबाब बढ्दै जानेछ।

उता महामन्त्रीको उम्मेदवारी घोषणा गरेर पनि सुशील कोइरालाले महत्त्वपूर्ण पदमा मनोनीत गर्छु भनेपछि बल्ल उम्मेदवारी फिर्ता लिएकी सुजाता कोइरालालाई सुशीलले उपसभापति मनोनीत गर्ने हुन् कि हैनन्, हेर्न बाँकी छ। कार्यसमितिमा कुन प्यानलका उम्मेदवार विजयी हुने हुन् त्यो पनि हेर्न बाँकी छ।

अपडेट (२५७): नेपाली काँग्रेसको सभापति पदमा सुशील कोइराला विजयी भएका छन्। यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ। कोइरालाले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेका छन्। देउवाको भने यो लगातार दोस्रो हार हुनेछ। यसअघि संसदीय दलको नेताको चुनावमा पनि उनी रामचन्द्र पौडेलसित पराजित भएका थिए।

No comments:

Post a Comment

Free counter and web stats